भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ अन्तर्गत तेजिङ–हिलारी राजमार्गमा पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ। पूर्वाधार विकास कार्यालयका अनुसार हालसम्म पुल निर्माणको ५५ प्रतिशत काम सम्पन्न भएको छ।
कोशी प्रदेश सरकारको करिब ४ करोड ९४ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पुल ३५ मिटर लामो र फुटपाथसहित ८.४ मिटर चौडा हुनेछ। ‘ओपन फाउन्डेसन’ प्रविधिबाट निर्माण भइरहेको पुलले साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाका बासिन्दालाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीयवासीका अनुसार वर्षायाममा खोलामा पानीको बहाव बढ्दा आवतजावत, खाद्यान्न ढुवानी तथा विद्यार्थी, बिरामी र गर्भवती महिलाको आवागमन निकै जोखिमपूर्ण हुने गरेको थियो। पुल निर्माण सम्पन्न भएपछि यी समस्या समाधान हुनुका साथै कृषि उपजको बजारीकरण र स्थानीय व्यापार व्यवसायमा समेत सहजता आउने विश्वास गरिएको छ।
विसं २०८२ असोजमा सम्झौता भएको पुल २०८४ असोजभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसको निर्माणको जिम्मा कोसेली–नौलाखा–जय गोविन्द जेभीले लिएको छ।