म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारको समपुरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो ।
रु एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु एक करोड २६ लाख ८२ हजार ८८८ कबोलेको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो ।
सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ग्राभेल, बेस र सवबेस राखेर शुक्रबारदेखि बिटुमीन बिछ्याउन थालिएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।
उनका अनुसार यस योजनामार्फत दरवाङको तल्लो उल्लो बजार क्षेत्रमा एक किलोमिटर ४०० मिटर कालोपत्र गरिने भएको छ । सडक विस्तार र कालोपत्र भएपछि सवारीसाधन आवतजावत सहज हुने स्थानीयवासीको अपेक्षा छ ।