काठमाडौं । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षा विधेयकलाई कानुन निर्माण प्रक्रियामा अघि बढाउने निर्णय भएको बताएका छन् ।
समितिको बुधबार बसेको बैठकमा सभापति गजुरेलले विधेयकको मस्यौदा आवश्यक परिमार्जन गरी कानुन तर्जुमाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउन अनुरोध गरेको जानकारी दिए ।
उनले भने, ‘मस्यौदा परिमार्जन गरी कानुन तर्जुमाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने व्यहोरा अनुरोध छ, भनेपछि यो सडक सुरक्षा विधेयक पनि अगाडि बढेको जानकारी आएको छ । त्यस्तै हामीले पूर्ण तयारी गर्नको लागि हामीले निर्देशन दिएका थियौँ ।’
सभापति गजुरेलले समितिले सडक मर्मत तथा वर्षायामको तयारीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई यसअघि नै आवश्यक निर्देशन दिएको बताए ।
उनले भने, ‘पूर्वाधार विकास मन्त्रालयबाट हामीलाई आएको जवाफमा राष्ट्रिय राजमार्ग कार्यक्रम तयार भइसकेको जस अन्तर्गत राजमार्गहरूको पटके मर्मतको लागि सडक विभाग मातहतका डिभिजन कार्यालयहरूबाट चालू आर्थिक वर्षको असार मसान्तभित्रै ठेक्का आह्वान भईसक्ने तथा दुई हजारको मार्गको विभिन्न स्थानहरूमा १५५ वटा हेभी इक्विपमेन्ट परिचालन भई सकेको, साथै १२२ वटा हेभी इक्विपमेन्टहरू स्ट्यान्डबाई अवस्थामा राखिएको जानकारी हामीलाई प्राप्त भएको छ ।’
त्यसैगरी, देशभरका विभिन्न राजमार्ग क्षेत्रमा हालसम्म १५५ वटा हेभी इक्विपमेन्ट परिचालन गरिसकिएको तथा थप १२२ वटा हेभी इक्विपमेन्ट आकस्मिक अवस्थाका लागि स्ट्यान्डबाईमा राखिएको जानकारी दिए ।