काठमाडौं। उत्तर–दक्षिण व्यापारिक मार्गअन्तर्गत कालीगण्डकी करिडोरको छुसाङ–घमी सडक स्तरोन्नति तथा कालोपत्र गर्न सरकारले बहुवर्षीय ठेक्का आह्वान गरेको छ।
कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक आयोजनाले शुक्रबार सूचना प्रकाशित गर्दै करिब २० किलोमिटर सडकलाई दुई प्याकेजमा कालोपत्र गर्न ठेक्का आह्वान गरेको हो। पहिलो प्याकेजमा छुसाङदेखि भेनासम्म र दोस्रो प्याकेजमा भेनादेखि घमीसम्मको सडक समेटिएको छ।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार पहिलो खण्डमा एक अर्ब रुपैयाँभन्दा बढी र दोस्रो खण्डमा करिब एक अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। कात्तिकभित्र ठेक्का सम्झौता सम्पन्न गरी तिहारलगत्तै निर्माण कार्य सुरु गर्ने लक्ष्य राखिएको छ।
यसअघि अर्थ मन्त्रालयले छुसाङ–घमी सडकका लागि ३ अर्ब १५ करोड रुपैयाँ बजेट स्रोत सुनिश्चित गरिसकेको छ। आयोजनाअन्तर्गत यसअघि निर्माण भएको ग्राभेल सडकलाई अब स्तरोन्नति गर्दै कालोपत्र गरिनेछ।
हाल जोमसोम–कागबेनी र कागबेनी–छुसाङ खण्डमा पनि सडक स्तरोन्नतिको काम जारी छ। सरकारले नेपाल–चीन जोड्ने कोरला नाकालाई उच्च प्राथमिकतामा राख्दै सडक पूर्वाधार विस्तारलाई तीव्रता दिएको हो।
कोरला नाकासम्म कालोपत्र सडक पुगेपछि नेपाल–चीन व्यापार, उपल्लो मुस्ताङको पर्यटन तथा स्थानीय नागरिकको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।