इलाम । जिल्लाको माइखोला बेलासेमा बेलीब्रिज निर्माण सम्पन्न भएसँगै मेची कोरिडोर हुँदै झापा, पाँचथर र ताप्लेजुङ जोड्ने यातायात सेवा सहज बनेको छ।
इलाम नगरपालिका–११ को सोयाक र माइ नगरपालिका–९ को चिसापानी जोड्ने १८० फिट लामो बेलीब्रिज सङ्घीय सरकारको एक करोड ११ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको हो। गत असोजमा आएको बाढीले पक्की पुल बगाएपछि यस क्षेत्रमा अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो।
बेलीब्रिज सञ्चालनमा आएपछि मेची राजमार्गमा बारम्बार हुने अवरोधका कारण वैकल्पिक मार्ग प्रयोग गर्ने सवारीसाधनलाई राहत पुगेको छ।
यता, मेची कोरिडोरअन्तर्गत पुवाखोला र जोगमाई खोलामा पनि बेलीब्रिज निर्माणका लागि संरचना तयार भए पनि भारतबाट आवश्यक सामग्री नआएका कारण जडानमा ढिलाइ भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
यसैबीच, माइखोला बेलासेमा स्थायी पक्की पुल निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ। सम्झौता भएको ३० महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।