मुस्ताङ । मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत छुसाङ–घमी सडकको स्तरोन्नति तथा कालोपत्रका लागि बहुवर्षीय ठेक्का आह्वान गरिएको छ।
उत्तर–दक्षिण व्यापारिकमार्ग विस्तार आयोजनाले शुक्रबार दुई प्याकेजमा ठेक्का आह्वान गरेको हो। छुसाङ–भेना र भेना–घमी खण्डको करिब २० किलोमिटर सडक कालोपत्रका लागि करिब दुई अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।
आयोजनाका अनुसार कात्तिकभित्र ठेक्का सम्झौता गरी तिहारलगत्तै निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ। यसअघि सरकारले यस सडकका लागि तीन अर्ब १५ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चित गरिसकेको छ।
कोरला नाका सञ्चालनमा आएसँगै व्यापार, पर्यटन र स्थानीय आवागमनलाई थप सहज बनाउन सरकारले सडक स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।