काठमाडौं। नेपाल आयत निगमले पेट्रोलियम पदार्थको कारोबारबाट अझै पनि मासिक ३ अर्ब ७० करोड घाटा बेहोरिरहेको छ। विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा सामान्य गिरावट आउँदा पनि निगमले भने ३ अर्ब ७० करोड घाटा बेहोरिरहेको छ।
यसअघि निगमले मासिक ५ अर्बसम्म घाटा बेहोरिरहेको थियो। डिसेम्बर १६ मा प्राप्त मूल्य सूचीअनुसार निगमलाई अहिले पनि पेट्रोलमा ५ रुपैयाँ ४४ पैसा, डिजेलमा २ रुपैयाँ ९२ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५८ रुपैयाँ २५ पैसा घाटा छ।
पेट्रोलियम खरिदबापत भारतीय आयल निगमलाई भुक्तानी गर्नुपर्ने रकममा कुनै कमि आउन नदिन विभिन्न विकल्पको खोजी गरिरहेको निगमले जनाएको छ।
घाटा धान्नै नसक्ने अवस्था आएपछि निगमले कर्मचारी आवास व्यवस्था अन्तर्गको तीन अर्ब २६ करोड, बिक्रेता तथा हवाईजहाज कम्पनीको धरौटीबापतको एक अर्ब ४५ करोड, कर्मचारी बोनस व्यवस्था अन्तर्गतको तीन अर्ब ४७ करोड र ह्रासकोषबाट एक अर्ब ४२ करोड खर्च गरिसकेको छ।