इलाम । माई नगरपालिका–६ स्थित रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। आत्मानन्द मार्गअन्तर्गत पर्ने यो पुल सङ्घीय सरकारअन्तर्गत पुल सेक्टर धरानको करिब ३० करोड ६५ लाख रुपैयाँ लागतमा निर्धारित समयअघि नै निर्माण सम्पन्न भएको हो।
२०० मिटर लामो र ११ मिटर चौडाइको पुल सञ्चालनमा आएपछि माई नगरपालिका र माङसेबुङ गाउँपालिकाका नागरिकको आवतजावत सहज र सुरक्षित बनेको छ। वर्षायाममा खोलामा बाढी आउँदा हुने यातायात अवरोध हटेसँगै विद्यार्थी, बिरामी तथा गर्भवती महिलालाई अस्पताल पुग्न र स्थानीयलाई दैनिक आवतजावत गर्न ठूलो सहज भएको छ।
स्थानीयका अनुसार पुल नहुँदा वर्षौंदेखि भोग्दै आएको समस्या अन्त्य भएको छ। पुल सञ्चालनमा आएपछि धार्मिकस्थल लारुम्बासहित झापा र इलामका विभिन्न क्षेत्रमा यात्रा गर्न पनि सहज भएको जनाइएको छ।