काठमाडौं । नेपालकै ठूलो सिमेन्ट उद्योग होङशी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको सञ्चालन आम्दानीमा उत्साहजनक सुधार देखिएको छ । विगतका केही वर्षहरूमा उतारचढावपूर्ण रहेको कम्पनीको व्यापार पछिल्लो समय सिमेन्टको मूल्यमा भएको सुधारसँगै लयमा फर्किएको हो ।
रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार, कम्पनीले आर्थिक वर्ष २०८१÷८२ मा १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को १० अर्ब ९६ करोड ७० लाख रुपैयाँको तुलनामा करिब २१ प्रतिशतको वृद्धि हो ।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नै कम्पनीले १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ आम्दानी गरिसकेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो ।
कम्पनीको आम्दानी बढ्नुमा मुख्यतया सिमेन्टको बिक्री मूल्यमा भएको वृद्धि र ठूलो उत्पादन क्षमतालाई प्रमुख कारण मानिएको छ । वार्षिक २३ लाख मेट्रिक टन सिमेन्ट र २० लाख मेट्रिक टन क्लिंकर उत्पादन क्षमता भएको यो उद्योगले बजारमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ । विशेषगरी बजारमा सिमेन्टको मागमा देखिएको क्रमिक सुधार र कम्पनीको प्रतिस्पर्धी मूल्य निर्धारण गर्ने क्षमताले आम्दानी बढाउन मद्दत पुर्याएको विश्लेषण गरिएको छ ।
यद्यपि, कम्पनीको आम्दानीमा ग्राहक एकाग्रता जोखिमभने उच्च देखिएको छ । कम्पनीको कूल क्लिंकर बिक्रीको शतप्रतिशत हिस्सा र सिमेन्ट बिक्रीको ३५ प्रतिशत हिस्सा शीर्ष १० ठूला ग्राहकहरूमा मात्रै निर्भर रहेको छ । यसले गर्दा बजारमा माग घट्दा वा ठूला ग्राहकसँगको सम्बन्धमा फेरबदल आउँदा आम्दानीमा प्रत्यक्ष असर पर्न सक्ने जोखिम रहन्छ ।
विगतका वर्षहरू हेर्दा आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब २० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको व्यापार त्यसपछिका दुई वर्षमा घटेको थियो । तर, पछिल्लो डेढ वर्षमा देखिएको आम्दानीको बढ्दो प्रवृत्तिले उद्योग पुनः पुरानै लयमा फर्कन खोजेको देखिन्छ । इक्रा नेपालका अनुसार, यदि निर्माण सामग्रीको मागमा यसैगरी सुधार भइरहे र सिमेन्टको मूल्य स्थिर रहेमा कम्पनीको सञ्चालन आम्दानी र नाफाको अवस्था अझै सुदृढ हुने अपेक्षा गरिएको छ ।