काठमाडौं। भक्तपुरमा रहेको त्वचा फल्चाको पुन:निर्माण कार्य पूरा भएको छ। भक्तपुर नगरपालिका–९ स्थित त्वचा फल्चाको पुन:निर्माण कार्य सम्पन्न भएको हो।
पुन:निर्मित फल्चाको शनिबार एक कार्यक्रमका बीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेका छन्। कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको बजेटमा उपभोक्ता समितिबाट पुनःनिर्मित २०७२ सालको भूकम्पबाट भत्केको त्वचा फल्चा, त्वचा सडक र गरुडकुन्दको पेटी र पर्खालको पनि संयुक्त रुपमा उद्घाटन गरे।
फल्चा पुन:निर्माणका लागि कूल खर्च १४ लाख ५० हजार ७५७ रुपैयाँ लागेको बताइएको छ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित १०८ रोपनी जग्गा संरक्षणका साथै भक्तपुरको रानीपोखरीलाई पुनःजीवन दिने कार्य गरेको समेत जानकारी दिए।
त्यसैगरी भक्तपुरको पुरानो क्षेत्रमा मौलिक शैलीका घर बनाउने नगरबासीहरुलाई नगरपालिकाले प्रोत्साहनस्वरुप आर्थिक अनुदानको योजना अघि सारेको छ। २०७२ सालको भूकम्पबाट भत्केको र लामो समयदेखि जीर्ण अवस्थामा रहेका फल्चा पुनःनिर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको उनले बताए