मुगु । मुगुको सोरु गाउँपालिका–९ स्थित कालै–कुलाहा झोलुङ्गे पुल आठ वर्षदेखि जीर्ण अवस्थामा रहेर स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका बेला स्थानियहरुको श्रमदानबाट पुनः मर्मत गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगु र स्थानियहरुको श्रमदानमार्फत पुल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो । वि.सं. २०४४ सालमा निर्माण भएको उक्त पुल जीर्ण बन्दै गएपछि सोरु गाउँपालिकाको केन्द्र सोरुकोट आवतजावत गर्ने वडा नं. ९, १० र ११ का स्थानीय प्रत्यक्ष प्रभावित हुँदै आएका थिए ।
वडा नं. ६ र ७ का बासिन्दाले पनि घाँस, दाउरा तथा पशुचौपाया लैजान यही पुल प्रयोग गर्दै आएका थिए । त्यस्तै, तातोपानी र तातोपानी गुफा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत यही पुल प्रयोग गर्न बाध्य थिए ।
स्थानीयवासीका अनुसार पुल मर्मतका लागि वडा, गाउँपालिका, प्रदेश र संघीय सरकारसमक्ष पटक–पटक आग्रह गरिए पनि कुनै निकायले चासो नदिएपछि वर्षौंदेखि जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था थियो ।
यसैबीच, रास्वपा मुगुले सोरु क्षेत्रमा अनुगमन तथा नागरिक भेटघाटका क्रममा पुलको अवस्था अत्यन्त जोखिमपूर्ण देखिएपछि तत्काल मर्मत गर्ने निर्णय गरेको थियो । जिल्ला भौगोलिक अनुगमन समिति तथा जनगुनासो केन्द्रका संयोजक नन्दबहादुर मल्लको जन्मदिनको अवसरलाई श्रमदान अभियानसँग जोड्दै पुल मर्मत गरिएको हो । मल्लले मर्मतका लागि आवश्यक नट–बोल्ट, किला, जाली र पातालगायत सामग्री उपलब्ध गराएका थिए ।
त्यसपछि पार्टीका नेता तथा कार्यकर्तासहित १५ जनाको टोलीले करिब १० घण्टा लगातार श्रमदान गरेर पुललाई पुनः सुरक्षित रूपमा सञ्चालनयोग्य बनाएको रास्वपाले जनाएको छ ।
रास्वपा मुगुका जिल्ला सभापति बिर्खबहादुर मल्लले नागरिकको दैनिक जीवनसँग जोडिएका समस्या समाधान गर्नु पार्टीको प्राथमिकता भएकाले श्रमदानमार्फत पुल मर्मत गरिएको बताए । संयोजक नन्दबहादुर मल्लले ठूला आश्वासनभन्दा नागरिकका साना तर अत्यावश्यक समस्या समाधान गर्नु बढी प्रभावकारी हुने भएकाले सबैको सहमतिमा अभियान सञ्चालन गरिएको उल्लेख गरे ।
पुल सञ्चालनमा आएपछि स्थानीय राजेन्द्र दमाईले लामो समयदेखि सरकारी निकायले बेवास्ता गरेको पुल मर्मत भएपछि अब सुरक्षित रूपमा यात्रा गर्न सकिने भन्दै रास्वपा मुगुका टोलीप्रति आभार व्यक्त गरे ।