स्याङ्जा । स्याङ्जामा आर्थिक वर्ष २०८२/८३ मा ६ वटा पक्की सडक पुल निर्माण गर्ने लक्ष्य राखिए पनि चारवटा मात्रै सम्पन्न भएका छन्। पूर्वाधार विकास कार्यालयका अनुसार बिरुवामा दुई, गल्याङ र फेदीखोलामा एक–एक गरी चार पुल निर्माण सम्पन्न भएका हुन्।
बिरुवाका राक्सेघाट र गैरीघाट पुल क्रमशः चार करोड ९२ लाख ७१ हजार र पाँच करोड ५१ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण भएका छन्। यस्तै, गल्याङको रातोपुल पाँच करोड ४६ लाख १४ हजार तथा फेदीखोलाको तिलस्वाँरा पुल तीन करोड १९ लाख ९४ हजार रुपैयाँ लागतमा बनेका हुन्।
बाँकीमध्ये पुतलीबजार–३ को सिंहाले पुलको ५० प्रतिशत र फेदीखोलाको सेतीखोला पुलको ४० प्रतिशत काम सम्पन्न भएको कार्यालयले जनाएको छ।
एक वर्षमा कार्यालयले ९.५ किलोमिटर सडक कालोपत्रे, ७.७ किलोमिटर ढलान र पाँच किलोमिटर ग्राभेल गरेको छ। ३०.३ किलोमिटर नाला तथा १०९ वटा कल्भर्ट र ह्युम पाइप निर्माण भएका छन्।
प्रदेशका ११६ र संघका पाँच गरी १२१ योजनामध्ये ६१ वटा सम्पन्न, ५३ निर्माणाधीन र सातवटा सुरु हुन सकेका छैनन्। कार्यालयले एक अर्ब नौ करोड ८१ लाख रुपैयाँ बजेट पाएकोमा ५९ करोड ५६ लाख रुपैयाँ खर्च गरेको जनाएको छ।