स्याङ्जा । स्याङ्जाको चापाकोट–८ दामाचौर र पाल्पाको रामपुर–६ जोड्ने कालीगण्डकी नदीमाथिको १८१.६९ मिटर लामो मोटरेबल ट्रस पुल निर्माण सम्पन्न भएको छ।
तीन वर्षमा सक्ने लक्ष्य राखिएको पुल प्राविधिक समस्याका कारण १५ वर्षपछि पूरा भएको हो। सुरुमा वेल फाउन्डेसनअनुसार निर्माण थालिए पनि पाँच मिटरमै चट्टान भेटिएपछि काम रोकिएको थियो। पछि डिजाइन परिवर्तन गरी पाइल फाउन्डेसनबाट निर्माण अघि बढाइएको हो।
२०६८ सालमा १५ करोड ६८ लाख रुपैयाँमा सम्झौता भएको पुलको लागत डिजाइन परिवर्तनसँगै बढेर २१ करोड ६२ लाख रुपैयाँ पुगेको छ।
पुल सञ्चालनमा आएपछि स्याङ्जा र पाल्पाबीचको आवागमन सहज हुनुका साथै कालीगण्डकी करिडोर हुँदै पर्वत र मुक्तिनाथसम्मको यात्रा थप सहज हुने अपेक्षा गरिएको छ।