रसुवा । बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना सम्पर्कविहीन रहेको र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको आयोजनाले जनाएको छ। विद्युत्गृहभित्र करिब १२ जना फसेको आशंका गरिए पनि आवश्यक उद्धार सामग्री अझै आयोजनास्थलसम्म पुग्न सकेको छैन।
सम्पर्कविहीन हुनेमा कम्पनीका ५१ कर्मचारी, एक सञ्चालक, दुई दैनिक ज्यालादारी कामदार र तीन ठेकेदार कम्पनीका ३९ जना छन्।
सुरुङभित्रको लेदो र मलबे हटाउन आवश्यक मिनी एक्स्काभेटर, जेनेरेटर, पम्पलगायत सामग्री मौसम प्रतिकूल भएका कारण धुन्चेसम्मसमेत पठाउन नसकिएको कम्पनीले जनाएको छ। ठूलो हेलिकप्टर अवतरण गर्न नसक्ने भएपछि वैकल्पिक रूपमा साना उपकरण पठाउने प्रयास भए पनि मौसमका कारण ढिलाइ भएको हो।
विद्युत्गृहबाहिर सम्पर्कविहीन भएकाको खोजीका लागि दक्ष रक क्लाइम्बर टोलीसमेत परिचालन गरिएको छ। चार दिनका लागि खटिएको टोली हाल टिमुरेमा रहेको र मौसम अनुकूल भए घट्टेखोला क्षेत्रमा खोजी गर्ने कम्पनीले जनाएको छ।
उद्धार तथा खोजी कार्यका लागि नेपाली सेनाको विशेष टोली आवश्यक उपकरणसहित मौसम खुल्नासाथ परिचालन हुने तयारीमा रहेको आयोजनाले जनाएको छ।