काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयको काममा खट्ने इन्जिनियरहरूको अभावको कारण विकास निर्माणले तीव्रता पाउन नसकेको बताएकी छन्।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैंठकमा मन्त्री यादवले मन्त्रालयमा काममा खट्ने इन्जिनियरहरूको अभावको कारण विकास निर्माणको काम तीव्र गतिमा अगाडि बढ्न नसकेको बताएकी हुन्।
उनले भनिन्, ‘पछिल्लो समय मन्त्रालयमा कर्मचारी अभाव छ। जसका कारण विकास निर्माणका योजनाहरू अगाडि बढ्न सकेका छैनन्। योजनाहरू अगाडि बढ्न नसक्दा पुँजीगत खर्च बढ्न सकेको छैन। त्यस्तै पछिल्लो समय पूर्वाधार निर्माणका लागि फिल्डमा खटिनुपर्ने इन्जिनियरहरू बिदामा बसेका छन्। त्यसले पनि १० जनाले गर्ने काम एक जनाले गर्नुपर्ने परिस्थिती छ।’
मन्त्री यादवले पूर्वाधार निर्माणको काममा खट्ने इन्जिनियरहरूको अभाव भएको र भएका इन्जिनियरहरू पनि पढाइलगायत विभिन्न बिदा लिएर काठमाडौंमा बस्न थालेकाले अझ बढी समस्या भएको बताइन्।
उनले यसरी विकास निर्माणको काममा खट्नु पर्ने इन्जिनियरहरू अत्यावश्यकबाहेक बिदामा नबसेर तत्काल काम गर्न आग्रहसमेत गरिन्। पढाइको लागि छुट्टिमा मन्त्रालय तथा मन्त्रालय मातहतका ८० भन्दा बढी इन्जिनियरहरू बिदामा रहेको उनले जानकारी दिइन्।
त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले कृषि मन्त्रालय अन्तर्गतका ठूला कृषि परियोजनाको काम गर्न कर्मचारी अभाव भएको बताए। उनले परियोजनामा प्राप्त कर्मचारीहरू भएमा मात्रै बजेट खर्च भएर पुँजीगत खर्च बढ्ने बताए।