काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीका कारण धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक र ३५ वटा पुल पूर्ण रूपमा क्षति भएका छन्। सडक विभागले यसको प्रारम्भिक क्षति ३० अर्ब रुपैयाँ बराबर अनुमान गरेको छ।
अवरुद्ध सडक खुलाउन विभागले नयाँ ट्रयाक खोल्ने र क्षतिग्रस्त पुलमा बेलिब्रिज जडान गर्ने काम तीव्र पारेको छ। नुवाकोटको देवीघाटमा ६० मिटर लामो एक्रो ब्रिज जडान सुरु भएको छ भने त्रिशूली बजार र बेत्रावतीमा पनि करिब ४८ मिटरका बेलिब्रिज जडानको तयारी भइरहेको छ।
रसुवाको स्याफ्रुबेँसीमा करिब ७५ मिटर लामो बेलिब्रिज आवश्यक पर्ने देखिएको छ। चीनले कोराला नाकामा उपलब्ध गराएका बेलिब्रिजका सामग्रीसमेत आवश्यक स्थानमा ल्याएर जडान गर्ने तयारी छ।
यसैबीच, नुवाकोटको बेत्रावतीसम्म वैकल्पिक ट्रयाक खोल्ने काम स्थानीयको मुआब्जा मागका कारण प्रभावित भएको छ। धादिङको कृष्णभीरमा २५२ मिटर नयाँ ट्रयाक खोलिसकिएको छ भने परेवाभिरमा सडक मर्मतका लागि सवारी आवागमन बन्द गरिएको छ।