गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थोराङ खोलामा आएको बाढीले चार घर र एउटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ।
आइतबार बिहान आएको बाढीले नाम्रुङका नुर्वु छिरिङ, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बाढीको जानकारी पाएपछि स्थानीय भागेर ज्यान जोगाएकाले मानवीय क्षति भने भएको छैन।
खोलाको मुहानतर्फ केही समय थुनिएर लेदोसहित बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। थोराङ खोला बूढीगण्डकीमा मिसिने भएकाले बूढीगण्डकी किनारका बासिन्दालाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।