चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भासिएर यातायात प्रभावित भएपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप बढेको छ। यात्रुको चाप बढेसँगै भरतपुरबाट हुने उडान दैनिक ९ देखि ११ वटासम्म पुर्याइएको छ।
बुद्ध एयरका भरतपुर कार्यालय प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँच उडान हुँदै आएकामा सडक असहज बनेपछि उडान सङ्ख्या बढाइएको हो।
भरतपुर–काठमाडौं रुटमा ‘एटिआर ७२’ जहाज सञ्चालन हुँदै आएको छ। धावनमार्ग छोटो भएकाले जहाजको ७२ जनाको पूर्ण क्षमताअनुसार यात्रु बोक्न नसकिने जनाइएको छ।
सडकको वैकल्पिक मार्गसमेत वर्षायाममा असहज रहेकाले यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेका छन्। भरतपुरमा चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट समेत यात्रु आउने गरेका छन्।