मनाङ। देशको अधिकांश भु–भागमा गर्मी मौसममा विकास निर्माणका काम गरिदै आएको छ। तर पर्यटकको गन्तव्य स्थल हिमाली जिल्ला मनाङमा भने गर्मी जाडो दुवै मौसममा विकास निर्माणका काममा कठिनाइ हुने गरेको छ। अझ भन्ने हो भने जाडो मौसममा मनाङको विकास निर्माण पूर्ण रुपमा प्रभावित हुँदैआएको छ।
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/manang1.jpg)
यस वर्ष गर्मीमा पनि मौसम परिवर्तन भएका कारण बाढीपहिराले समस्या निम्त्याइरहेको हुनाले विकास निर्माणमा कठिनाइ भएको थियो। यसैगरी हिउँद लाग्नासाथ मौसम बद्लिएर हिमपात सुरु भएसँगै विकास निर्माण कार्य पनिप्रभावित भएको छ। यसले पर्यटन क्षेत्रलाई पनि प्रभाव पारेको छ।
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/manang2.jpg)
प्रकृति नै बाधक बन्दा मनाङको विकासमा बाधा पुगेको छ। बाढीपहिरो नियन्त्रणपछि केही विकास निर्माणका काम थालिएको भएपनि हिउँद लागेपछि हिमपात सुरु भएसँगै त्यसले निरन्तरता पाउन नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिएका छन्। दुवै मौसममा विकास निर्माणको काममा प्रकृति नै बाधक बनेपछि अहिले मनाङको प्रवेशद्वार नासों गाउँपालिकाको धारापानीसम्म मात्रै सवारी आवतजावत हुने गरेको छ।
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/manang3.jpg)
वर्षातमा बाढीले भत्किएको पुल मर्मत गर्न थालिएको भएपनि अझै निर्माण पूरा भएको छैन। पुल निर्माणका लागि आवश्यक पर्ने सामग्री ढुवानी गर्न नसक्दा हालसम्म पुल मर्मतको काम अलपत्र छ। यसैगरी बाढीले भत्किएका सामुदायिक एवं व्यक्तिगत आवास निर्माण गर्न सकिएको छैन। हिमपातको कारणले गर्दा सामग्री मनाङसम्म ल्याउन कठिन भएको हुँदा निर्माण कार्य अलपत्र परेको हो।
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/manang4.jpg)
माथिल्लो मनाङमा हिउँदमा अत्यधिक हिमपातले गर्दा करिब तीन महिनासम्म सवारी आवतजावत नहुने र हिमपातले पुरिएको स्थानमा हिउँ फालेर मात्रै बाटो पहिल्याउनु पर्ने अवस्था रहेकाले यस्तो अवस्थामा विकास निर्माणको काम गर्नसक्ने संभावना नरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/manang5(1).jpg)
विगतका वर्षहरूको तुलनामा यस वर्ष मनाङमा बाढीपहिरोले भौतिक संरचनामा क्षति धेरै पुर्याएको छ। प्राकृतिक बदलावको कारण बाढीपहिराले क्षति पुर्याएका भौतिक संरचना निर्माणको काम हालसम्म अलपत्र अवस्थामा नै छन्। दुवै मौसममा निर्माणको काम गर्न नसक्दा हालसम्म मनाङका धेरै भागसम्म सडकको व्यवस्थापन राम्रो बनाउन सकिएको छैन। यसले गर्दा मनाङको पर्यटन प्रवद्र्धनमा बाधा पुगेको छ।
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/manang6.jpg)