काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्डको करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार कृष्णभीरमा निर्माण गरिएको २७० मिटर नयाँ सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माणको काम सम्पन्न भएको छ।
बाँकी रहेको सब–बेस निर्माणको काम बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ। निर्माण कार्यलाई तीव्रता दिन रातिको समयमा समेत काम गर्न फ्लड लाइटको व्यवस्था गरिएको छ।
निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै असोज १ गतेदेखि कृष्णभीर सडकखण्डमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।