धादिङको कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक बिहीबार बिहानदेखि सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएसँगै उक्त सडकखण्डमा दुईतर्फी नै सवारीसाधन चल्न थालेका हुन्।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार बिहीबार बिहानैदेखि नयाँ ट्र्याकबाट सवारीसाधन सञ्चालन भइरहेका छन्। उनका अनुसार हालसम्म नयाँ ट्र्याकमा कुनै समस्या देखिएको छैन।
सानातिना समस्या आए तत्काल समाधान गर्न प्राविधिक, मेसिन तथा सुरक्षाकर्मीसहितको डेडिकेटेड टोली परिचालन गरिएको पाण्डेयले बताइन्। आवश्यक परे टोलीले तत्काल मर्मत तथा सम्भार गर्ने उनको भनाइ छ।
यद्यपि अहिले पानी पर्ने समय भएकाले नयाँ ट्र्याक हुँदै यात्रा गर्दा सावधानी अपनाउन पाण्डेयले आग्रह गरेकी छन्। विशेषगरी वर्षाका कारण सडकमा समस्या आउन सक्ने भएकाले चालक तथा यात्रुलाई सतर्क रहन उनले अनुरोध गरेकी हुन्।