म्याग्दी । चीन–भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा सडक स्तरोन्नति तथा पहिरो नियन्त्रणको काम तीव्र पारिएको छ।
बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले गलेश्वरदेखि लेते–सेतोखोला क्षेत्रसम्म पहिरो प्रभावित स्थानमा ढलान, ग्यावियन तथा टेवा पर्खाल निर्माणको काम अघि बढाएको हो।
राहुघाट, घुमाउनेताल, चमेरे र बैसरी क्षेत्रमा एक किलोमिटर दुई सय मिटर सडक ढलान तथा दुई हजार तीन सय घनमिटर ग्यावियन र पर्खाल निर्माणका लागि ७ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
त्यस्तै, कुनौटा, बेगखोला, भिरकाटे र रातोपानी क्षेत्रमा टेवा पर्खाल, कल्भर्ट तथा सडक ढलानको काम भइरहेको छ। जोखिमयुक्त सिरुवारी र तातोपानीलगायत क्षेत्रमा पहिरो नियन्त्रणका लागि प्राविधिक अध्ययन भइरहेको आयोजना कार्यालयले जनाएको छ।
बर्खायाममा बाढीपहिरोका कारण यातायात प्रभावित हुने भएकाले सडक संरक्षण र स्तरोन्नतिलाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ।