काठमाडौं। नेपाल वायुसेवा निगमको हवाईजहाजमा यात्रा गर्दा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले छुट पाउने भएका छन्। प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजमा अन्तराष्ट्रिय यात्रा गर्दा अब १५ प्रतिशत छुट पाउने भएका हुन्।
कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिस पत्रका साथै परिचयपत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ। निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउने छन्।
प्राधिकरण र निगमबीच एक आपसमा सहकार्य गर्न सोमबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सम्झौता भएको हो। सम्झौता अनुसार अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तराष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउने छन्।
प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५ देखि १० प्रतिशत छुट पाउनेछ । प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तराष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत गर्न परिपत्र गर्ने व्यवस्था एमओयूमा गरिएको छ।