काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) को सार्वजनिक निष्कासनसम्बन्धी प्रस्तावित निर्देशिका पुनरावलोकन गर्न माग गरेको छ। इप्पानले जलविद्युत् आयोजनाको प्रकृति र ठूलो पूँजी आवश्यकतालाई ध्यानमा राखेर छुट्टै आईपीओ चेकलिस्ट बनाउन सुझाव दिएको छ।
इप्पानले निर्माणाधीन आयोजनालाई आईपीओ रोक्ने व्यवस्था हटाउँदै भौतिक प्रगति ६५ प्रतिशत पुगेपछि निष्कासनको अनुमति दिन माग गरेको छ। त्यस्तै, निर्माण अवधिमा नेटवर्थ अंकित मूल्यभन्दा कम भए पनि आईपीओ खुलाउन दिनुपर्ने, ऋण–पूँजी अनुपातमा सेबोनले हस्तक्षेप गर्न नहुने र हजारौं संस्थापक शेयरधनीको ‘फिट एन्ड प्रोपर’ परीक्षण व्यावहारिक नभएको जनाएको छ।
इप्पानले आईपीओ स्वीकृति प्रक्रिया समयबद्ध गर्न पनि माग गरेको छ। आवेदनको प्रारम्भिक परीक्षण १५ दिन, विस्तृत मूल्यांकन ४५ दिन र अधिकतम ६० देखि ९० दिनभित्र निर्णय गर्ने व्यवस्था गर्न सुझाव दिएको छ।