काठमाडौं । वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। केही सडक पूर्णरूपमा बन्द छन् भने केहीमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
सोलुखुम्बुको सिद्धिचरण राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। खोटाङको मध्यपहाडी राजमार्गअन्तर्गत हलेसी–१ मा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ।
नुवाकोटको शिवपुरी–८ स्थित घट्टेखोलाबाट चल्ने टोखा–छहरे सडकखण्डमा पनि रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ–१० स्थित ज्वाङखोला र वडा नम्बर ७ को कृष्णभीरमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ।
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न सडकमा अझै यातायात प्रभावित छ। प्रहरीले रसुवाका मुख्य राजमार्गहरू अझै पूर्णरूपमा अवरुद्ध रहेको जनाएको छ। नुवाकोटको पासाङल्हामु सडकखण्ड पनि अर्को सूचना नभएसम्म पूर्णरूपमा बन्द छ।
मकवानपुरको भैँसे–भीमफेदी र देउराली–कुलेखानी सडकमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक पहिरोका कारण पूर्णरूपमा अवरुद्ध छ भने पाल्पाको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।