काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनकुटाले असोज ७ देखि ११ गतेसम्म रातिको समयमा विभिन्न सडकमा सवारी सञ्चालनमा रोक लगाएको छ।
अति भारी वर्षाको सम्भावनाका कारण बाढी, पहिरो, कटान र डुबानको जोखिम बढ्ने भन्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो।
भेडेटार–रवि–राँके सडक, मूलघाट–पाँचथर सीमा तमोर करिडोर तथा भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने–आउने सवारी र जोखिमयुक्त भित्री सडकमा रोक लागू हुनेछ।
प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न आग्रह गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।