काठमाडौं। सात लाख तिरेर केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो।
उक्त क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार गर्ने व्यवस्था सम्भव नभएपछि उनीहरूले व्यक्तिगत खर्चमा काठमाडौँबाट हेलिकोप्टर मगाएर थप उपचारका लागि जिल्ला बाहिर लिइएको सबरामीका आफन्तले बताए। आफन्तका अनुसार आफ्नै निजी खर्चमा बिरामीको उद्धार गरेका हौँ, रु सात लाख ५० हजार महङ्गो हवाई भाडा तिरेर उपचारका काठमाडौँ लगिएको छ।
काठमाडौँबाट नाइनएन–एजेआरको समिट एरलाइन्सको फिस्टेल हेलिकोप्टरबाट उनीहरूलाई उद्धार गरिएको हो। पचास वर्षीय तामाङको नाकबाट निरन्तर रगत बगिरहेपछि गाउँमा उपचारको सम्भावनमा नभएकाले हेलिकोप्टर मगाइएको हो।
उत्तरी हुम्लाका नागरिक बिरामी हुँदा आफ्नै खर्चमा महङ्गो हवाई भाडा तिरेर बिरामीको उद्धार गर्दै आएका छन्। हिउँदयाममा यस क्षेत्रमा अत्यधिक चिसो हुनुका साथै स्वास्थ्यकर्मी कार्यालयमा नियमित नहुँदा सिधै काठमाडौँबाट हेलिकोप्टर मगाएर महङ्गो खर्चमा बिरामीले उपचार गर्नुपर्ने बाध्यता छ। जसले गर्दा सर्वसाधारणलाई लामो बाटोको दुख एकातिर छ भने आर्थिक समस्याको भार एकातिर परेको छ।