लमजुङ। न्यादी जलविद्युत आयोजना निर्माण पूरा भएको एक वर्ष पुग्दा समेत उत्पादन शुरु हुन सकेको छैन। गत वर्ष नै निर्माण पूरा भएको ३० मेगावाटको आयोजनाले प्रसारण लाइनको अभावका कारण बिजुली उत्पादन गर्न नपाएको हो।
आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनमा जोड्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ। तर प्रसारण लाइन तयार नहुँदा वैकल्पिक रुपमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ को भुलभुले–मस्र्याङ्दी प्रसारण लाइनमा जडान गर्ने प्रयास गरे पनि सफल हुन सकेको छैन।
प्राधिकरणसँग ‘कनेक्सन एग्रिमेन्ट’ भइसकेको अवस्थामा माथिल्लो मस्र्याङ्दी ‘ए’ को चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा लाइन जडान हुन नसकेको हो। आयोजनाका सबै उपकरणको परीक्षण भइसकेको प्रवर्धक न्यादी हाइड्रो पावर कम्पनीले जनाएको छ।
न्यादीले खुदी सबस्टेशनको ६ किमि प्रसारण लाइन यसअघि नै बनाइसकेको छ । उसले मस्र्याङ्दी–३ खुदी सबस्टेसनबाट मस्र्याङ्दी–८ लाम्पाटासम्म थप ३ किमि प्रसारण लाइन निर्माण गरिरहेको छ । लाम्पाटास्थित १३२ केभीको चौथो टावरमा जोड्ने भने पनि सिनो हाइड्रोले सहमति जनाएको छैन।
नयाँ थप प्रसारण लाइन निर्माणका क्रममा मस्र्याङ्दी–६ र ३ साथै ६ र ७ बीचको तार टाँग्न बाँकी रहेको बताइएको छ।