काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेण्ट निर्माण गर्ने कार्य रोक्न निर्देशन दिएका छन्।
मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बी. म्यानेजमेन्ट प्रालिलाई निर्माण कार्य रोक्न भनी पत्र पठाएको हो।
मन्त्रालयको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न पत्रमा उल्लेख गरिएको छ।
पत्रमा भनिएको छ, ‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति र त्यस प्रालि बीच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चारमाध्यमहरूमा आएका समाचारका कारण विवाद सिर्जना हुन गएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ।’
