काठमाडौं। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। नेपाल आयल निगमले विमानस्थल निर्माण कार्य भई रहेकै अवस्थामा हवाई इन्धनको डिपो जडानको कार्य पनि सम्पन्न गरेको छ।
आयल निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ७०।७० हजार लिटर क्षमताका ५ वटा भूमिगत ट्यांक निर्माण गरेको जनाइएको छ। जसले अन्तर्राष्ट्रिय स्तरको विमानस्थल सञ्चालन गर्दा आवश्यक हवाई इन्धनको माग पुरा गर्न सहयोग पुग्ने छ।
गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण कार्य ९८.७६ प्रतिशत पूरा भएको छ। यही जनवरी महिनाभित्रै क्यालिब्रेसन उडान गरी आगामी तीन महिनाभित्र उक्त विमानस्थलको उद्घाटन गरिसक्ने घोषणा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले गरेका छन्।