काठमाडौं। विद्युत् नियमन आयोगका तीन पदाधिकारी निलम्बनमा परेका छन्। सरकारले आयोगका पदाधिकारीको ‘कार्य सम्पादन क्षमता’ माथि प्रश्न उठाउँदै ‘छानबिन समिति’ गठन गरेपछि आयोगका तीन पदाधिकारी स्वतः निलम्बनमा परेका हुन्।
पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा तीनसदस्यीय छानबिन समिति गठन गरिएको हो।
गत साताको मन्त्रिपरिषद्ले नै यस सम्बन्धमा निर्णय गरेको थियो। उक्त निर्णय मंगलवार प्रमाणित भएपछि आयोगका पदाधिकारी स्वतः निलम्बनमा परेका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधुप्रसाद भेटुवालले आयोगका पदाधिकारीको कार्यसम्पादनका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको बताए। आयोगका पदाधिकारीले ऐन बमोजिम काम नगरेकाले छानबिन गर्न आवश्यक देखिएको उनले बताए। आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंहका साथै सदस्यमा रामेश्वर कलवार र भागीरथी ज्ञवाली छन् ।
उनीहरूको कार्यसम्पादनमा प्रश्न उठाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले छानबिनका लागि समिति बनाउन दुई साताअघि नै मन्त्रिपरिषद्मा प्रस्ताव लगेकी थिइन्। सो प्रस्ताव मन्त्रिपरिषद्ले पारित र प्रमाणीकरण गरेपछि लागू भएको छ।