कास्की। कास्कीको उत्तरपूर्वी क्षेत्रमा रहेको गुरुङ गाउँमा गुरुङको इतिहास र मौलिकता झल्काउने गरीको संग्रहालय निर्माण गरिएको छ। मौलिक तथा पौराणिक प्ये ल्हुँलाई दस्तावेजीकरण गर्न सिक्लेसकै चिली क्होंइँबोले संग्रहालय लगायतको संरचना तयार गरेको हो।
करिब १७ रोपनी क्षेत्रफलमा तयार गरिएको ठूलो संरचनामा गुरुङ समुदायको इतिहास झल्कने मौलिक तथा परम्परागत वस्तुको संग्रहालयदेखि पुस्तकालयसम्म उपलब्ध छन्।
चिली क्होंइबो धींको निर्माण तमु प्ये ल्हुँ अन्तर्गतको चिली क्होंइबो इकाई समितिले बनाएको हो। यो संस्थाले करिब २ करोड ८५ लाख रुपैयाँ लागतमा भवन निर्माण गरेको बताइएको छ।
संग्रहालयमा पुस्तकालयदेखि गुरुङ समुदायबाट ख्यातिप्राप्त डा. हर्क गुरुङ, डा चन्द्रप्रसाद तमु र गाउँका पहिलो शिक्षक हवल्दार शिवलाल तमु र जमदार चन्द्रबहादुर तमुको शालिकसमेत राखिएको छ।
धीं क्षेत्रमा ऐतिहासिक घले राजाको समयमा प्रयोग गरिएको ढिंकीदेखि, धन्सार, धुपबत्ती बाल्ने घर, गुरुङ समुदायमा प्रचलित मौलिक स्युर धीं अर्थात् घुम्ने घरसमेतको स्थापना गरिएको छ। धींमा एकैचोटि १२ सय जना अटाउन मिल्ने गरी सभाहल पनि बनाइएको छ। धीं नजिकै हेलिप्याडसमेत बनाइएको छ।