काठमाण्डौं। एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ। हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको हो।
जिल्लाको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली निकालेर गाउँलाई उज्यालो बनाइएको थियो। एउटा टर्वाइनमा देखिएको समस्याले गाउँवासीले नै निकै समस्या भोग्नुपरेको स्थानीयवासीको गुनासो छ।
भएका स्रोतको सदुपयोगसहित उचित व्यवस्थापन गर्न नसक्दा स्थानीय अँध्यारोमा बस्न बाध्य भएका छन्। धौवादीको डाँडास्थित रुद्रपुरमा विसं २०६८ मा एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा हावाबाट बिजुली निकालिएको थियो।
दुई करोड बढीको लागतमा सञ्चालित परियोजनाबाट हावाका माध्यमले १० किलोवाट विद्युत् तथा सौर्य ऊर्जाबाट दुई किलोवाट विद्युत् गरी सो स्थानमा १२ किलोवाट विद्युत् उत्पादन गरिएको थियो।
स्थानीवासीका अनुसार हावाबाट बिजुली निकाल्नका लागि टर्वाइनमा जडान गरिएको पङ्खा हावाको वेगले घुम्दा थप आकर्षक देखिन्थ्यो। यहाँ फोटो खिच्न तथा हावाबाट निकालिएको बिजुली अवलोकनका लागि आन्तरिक पर्यटकको बाक्लै उपस्थिति हुने गरेको थियो। यसलाई मर्मत सम्भार गरी अझ राम्रो बनाउन सके पर्यटकको संख्या बढ्ने स्थानीय बताउछन्।
परियोजना सञ्चालन भएपछि केही वर्ष उक्त स्थानमा क्षमताअनुसारको विद्युत् उत्पादन भएकाले यहाँका बासिन्दाले चौबीसैँ घण्टा विद्युत्को प्रयोग गर्न पाएका थिए। उक्त विधुत्बाट रुद्रपुरका इलाका प्रहरी कार्यालय र स्थानीय ४२ घरधुरी लाभान्वित भएका थिए।