काठमाडौं। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा साहसिक खेल जीपलाइन निर्माण गर्न सुरु गरिएको छ। छिल्लीकोट रिसोर्ट एण्ड थ्री स्टार कम्पनीले जीपलाइन निर्माण गर्न सुरु गरेको हो।
एक करोड दश लाखको लागतमा जीप लाइन बनाउन सुरु गरिएको छ। जीप लाइन निर्माण गर्नका लागि वन मन्त्रालयबाट पूर्व स्वीकृत ल्याउनुपर्ने भएकाले एक हप्ताभित्रै कानुनी प्रक्रिया पूरा भई निर्माणको काम शुरु गरिने जनाइएको छ।
उक्त जीपलाइन कालिका मन्दिरबाट सुरु हुने र भूल्के सामुदायिक वनको चोरकाटे भेरी खोरमा ल्याण्डिङ हुने गरी निर्माण गर्न सुरु गरिएको छ। निर्माण कम्पनीले उक्त जीप लाइन नेपालकै सबैभन्दा लामो दूरीको दाबी गरेको छ।
निर्माण शुरु गरेको तीन महिनाभित्रै सञ्चालनमा ल्याइने सञ्चालकका भनाइ छ। चैते दशैमा त्यस क्षेत्रमा मेला लाग्ने भएकाले त्यो अघि नै जीपलाइन सञ्चालनमा ल्याइने बताइएको छ।कम्पनीले जीपलाइन निर्माणसंगै रिसोर्ट र मन्दिर क्षेत्रमा पार्क समेत निर्माणको लक्ष्य राखेको छ।
स्थानीयका अनुसार जीपलाइन निर्माण भएसँगै त्यहाँको पर्यटन आकर्षणमा थप टेवा पुग्ने भएको छ।