काठमाडौं। नेपालगञ्जमा देशकै सबैभन्दा ठूलो क्षमताको पेट्रोल पम्प निर्माण गरिएको छ। नेपाल आयल निगमले नेपालगञ्जमा निर्माण गरेको मुलुककै सबैभन्दा ठूलो क्षमताको पेट्रोल पम्प गत बुधबारदेखि सञ्चालनमा आएको हो।
बुधबार आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पम्पको उद्घाटन गरेका छन्। यस पम्पमा एक लाख सात हजार लिटर पेट्रोल र डिजेल अटाउने अन्डर ट्यांक छ। २५–२५ हजार लिटर क्षमताका तीनवटा डिजेल ट्यांक र १६–१६ हजार लिटरका दुईवटा पेट्रोल ट्यांक छन्।
भण्डारण क्षमता ठूलो भएकाले सो पम्प पुगेर उपभोक्ताले तेल हाल्दाहाल्दै अचानक स्टक सकिएर त्यसै फर्किनुपर्ने स्थिति कहिल्यै नआउने बताइएको छ। नेपालगञ्जमा निगम स्वामित्वको ११ कठा जमिनमा पौडेल कार्यकारी प्रमुख भएर आएपछि पम्प निर्माण थालनी भएको थियो।
यो पम्प अटोमेसन प्रविधिमा समेत सञ्चालनमा ल्याइएको छ। पेट्रोल पम्पको पूर्वाधार निर्माणमा सुरुदेखि नै सहभागी भएका निगमका प्रबन्धक शैलेन्द्र भुसालका अनुसार अन्डर ट्यांकमा रहेको तेलको परिमाण कम्प्युटरबाट हेर्न मिल्ने प्रविधि जडान गरिएको छ।