काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले मल अभावको समस्या समाधान हुने बताएका छन्। एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले मल अभावको समस्या समाधानका लागि सरकारले विद्युतमा आधारित मल कारखाना निर्माण गर्ने तयारी गरिरहेको बताएका हुन्।
उनले विद्युतमा नै आधारित फ्याक्ट्री निर्माणका लागि जर्मनीसँग छलफल भइरहेको र निर्माण कार्यका लागि जर्मनी र थाइल्याण्डका कम्पनी इच्छुक रहेको बताए।
मन्त्री यादवले देशमा एक लाख मेट्रिकटन युरिया, दुई लाख मेट्रिकटन डिएपी र आठ लाख मेट्रिकटन पोटासिएम मलको आवश्यकता रहेको बताए। उनले मुलुकमा मल कारखाना स्थापनाका लागि अहिले पनि लगानी बोर्डमा प्रस्ताव दर्ता भएको जानकारी दिए। मन्त्री यादवले उद्योग निर्माणका लागि करिब एक खर्ब २५ अर्ब लागत लाग्ने अनुमान गरिएको बताए।
देशको समृद्धिका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण, औद्योगिकीकरण, मूल्य निर्धारण, भण्डारण र बजारीकरणको उचित प्रबन्ध गर्नुपर्नेमा मन्त्री यादवको जोड थियो।