काठमाडौं। नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न अनुमति दिइएको बारेमा छानबिन गर्नका लागि समिति गठन भएको छ।
रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका प्रक्रियाको छानबिनका लागि
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन्।
मन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य छन्।
समितिको सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन्। छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई तीन दिनको समयसीमा दिइएको छ।