काठमाडौं । ललितपुरको पुल्चोकमा पुनर्निर्माणको क्रममा रहेको समय फल्चा पाटीको काम सोमबारदेखि सुचारु भएको छ । उच्च अदालत पाटनले समय फल्चा पाटीको पुनर्निर्माणको काम रोक्ने अन्तरिम आदेश खारेज गरेसँगै सोमबारदेखि काम शुरु भएको हो ।
न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले आदेश खारेज गरेको हो। होम प्रो. फर्निसिङले ललितपुर महानगरविरुद्ध हालेको मुद्दामा अदालतले यस्तो आदेश गरेको हो।
जिल्ला अदालत ललितपुरको भदौ २२ को आदेशपछि महानगरपालिकाले हाल लालिगुराँस सहकारीको भवन रहेको स्थान फल्चाको रहेको भन्दै पुनर्निर्माण थालेको थियो। फल्चाको महानगर प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गरेका थिए। तर, यसविरुद्ध परेको रिटमाथि उच्च अदालतको एकल इजलासले पुनर्निर्माण रोक्न अन्तरिम आदेश जारी गरेको थियो। यससँगै पुनर्निर्माणको काम रोकिन पुगेको थियो।