काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भान्छामा ग्यासको सट्टा विद्युतीय उर्जाको उपयोग बढाउन आग्रह गरेकी छन्।
नेपाल सौर्य विद्युत उत्पादक संघको २१औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री भुसालले नवीकरणीय ऊर्जाको उपयोग बढाउन आयातित ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्नुपर्ने बताएकी हुन्।
आयातित ग्यासले बढाइरहेको मुलुकको व्यापार घाटा रोक्न पनि भान्छामा नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भएको विद्युतीय ऊर्जा उपयोग बढाउनु पर्नेमा उनलेको जोड छ। मन्त्री भुसालले भनिन्, ‘ हाम्रो विद्युत नवीकरणीय स्रोतबाट उत्पादन भएकाले स्वच्छ ऊर्जा हो। यसको उपयोग बढाएर जीवन सहज बनाउँदै जानुपर्छ।’
विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवद्र्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति आफूले अगाडि बढाएको पनि उनले बताइन्। विद्युत खपत हुँदा परम्परागत ऊर्जा खपतमा कमी आइ स्वच्छ ऊर्जाको प्रयोगमा बढोत्तरी हुने उनको भनाइ छ ।
प्रविधिका कारण तुलनात्मकरूपमा सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र छोटो समयमा उत्पादन गर्न सकिने भएकाले ऊर्जा सङ्कट समाधानका लागि सौर्य विद्युत सहयोगी हुने मन्त्री भुसालको तर्क छ।
नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोतहरू भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गनुपर्ने र व्यवस्थापनको चुनौति पनि बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा उनले जोड दिइन्।