नवलपुर। तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काउन शुरु गरिएको छ। नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैंडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले अतिक्रमण गरेर निर्माण गरिएका संरचना डोजर लगाएर भत्काउन शुरु गरेको हो।
सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै समितिले चितवनको भरतपुर महानगरपालिका–१ मा पर्ने देवाघाटतर्फबाट सडक मिचेर निर्माण गरिएको घरटहरा भत्काउन शुरु गरेको जनाएको छ। बिहीबारमात्रै सीताराम संस्कृत माविदेखि चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलसम्मको सडक किनारको संरचना भत्काएको बताइएको छ।
चितवनतर्फको देवघाटमा रहेको सीताराम संस्कृत माविबाट झोलुङ्गे पुलसम्म ११ मिटर चौडाइको सडक भए पनि अतिक्रमणमा परेको थियो। सडकको दुवै किनारमा अतिक्रमण गरेर घरटहरालगायत भौतिक संरचना निर्माण गरिँदा सडक साँघुरो हुँदै गएपछि समिति बाध्य भएर टहरा भत्काउन लागेको बताइएको छ।
नजिकिँदै गरेको देवघाट मेलालाई मध्यनजर गरेर पनि अतिक्रमित संरचना हटाउन थालिएको हो ।