गोरखा। पर्यटन प्रवर्द्धनमा साहित्यको महत्वपूर्ण भूमिका रहेको साहित्यकारहरुले बताएका छन्। गोरखामा आयोजित ‘साहित्यको लागि पर्यटन काव्य यात्रा एवम सांस्कृतिक कार्यक्रम’ का अधिकांश वक्ताहरुले स्थानविशेषको महत्व उजागर गर्न र जनचासो बढाउन लेखक कविको सृजना महत्वपूर्ण हुने बताएका हुन्।
अन्तराष्ट्रिय साहित्य समाज अनेसास नेपाल च्याप्टरले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले साहित्यकारहरुलाई गोरखामा स्वागत गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकतामाथि थप गहन सृजनाका लागि आग्रह गरे।
उनले लेखक कविको सृजनालाई थप व्यवस्थित र नगरपालालिकालाई वैभवशाली बनाउन गोरखा नगरपालिकाले प्रज्ञाप्रतिष्ठान गठन गर्न लागेको जानकारी दिए। अन्तराष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टकी अध्यक्ष गीता खत्रीले पर्यटन प्रवर्द्धन गर्न साहित्यकारहरु विभिन्न ठाउँ पुग्नुपर्ने र त्यहाँको जनजीवन, भौतिक अवस्थितिबारे लेख्नुपर्ने बताइन्। उनले विश्वमाझ नेपाल वैभवशाली रहेको र यहाँको प्राकृतिक सांस्कृतिक वैभवबारे लेख्न आवश्यक रहेको बताइन्।
अनेसास नेपाल च्याप्टरकी अध्यक्ष तथा कार्यक्रममा सभापति संध्या पहाडीले यस किसिमका कार्यक्रमले सर्जक र स्रष्टालाई थप उर्जावान र सृजनशील बनाउने विश्वास व्यक्त गरिन्। उनले मुलुकभित्र र बाहिर साहित्यलाई पर्यटनसँग जोडेर विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिइन्।