काठमाडौं। नारायणहिटी दरबार संग्रहालय भित्र निर्माणाधीन रेष्टुरेन्टका संरचना भत्काइएको छ।
बतास समूहले बनाएको विवादित कफी शपको संरचना शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले भत्काएको हो।
समितिले बाहिरबाट मजदूर बोलाएर संरचना भत्काएको बताइएको छ। बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नक्शा पास बिना रेष्टुरेन्टका लागि संरचना निर्माण गरिरहेको भन्ने समाचार आएपछि विवाद शुरु भएको थियो।
पर्यटन मन्त्री प्रेम आलेको मौखिक आदेशमा समितिले पुस २० गते कम्पनीलाई पत्र लेख्दै संरचना निर्माणको काम रोक्न निर्देशन दिएको थियो। नारायणहिटी भित्र रेष्टुरेन्ट निर्माणका लागि भएको सम्झौताका विषयमा छलफल गर्न पर्यटन मन्त्रालयले बिहीबार समिति समेत गठन गरेको छ।