काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च हुन नसक्दा विकास निर्माणको काम प्रभावित भएको बताएका छन्।
शुक्रवार देखि सिन्धुलीको मरिण गाउँपालिका ४ साहानमा सुरु भएको तेस्रो मरिण महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले पुँजीगत तर्फको बजेट खर्च कम हुँदा विकास निर्माणको काम ढिला भएको बताएका हुन्।
उनले हालसम्म चालु आर्थिक वर्षको कुल बजेटको ३४ प्रतिशत बजेट खर्च भएको तर पुँजीगत खर्च भने ९ प्रतिशत मात्रै जानकारी दिए। उनले भने, ‘बजेट खर्च नभएको होइन। सरकारको ३४ प्रतिशत बजेट खर्च भएको छ। समग्रमा पुँजीगत खर्च मात्रै कम भएको हो। ३, ४ खर्बको पुँजीगत खर्च छ। त्यो मध्ये ९ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ। पुँजीगत खर्च कम हुँदा विकास निर्माणमा ढिला सुस्ती भएको छ।’
पुँजीगत खर्च कम हुँदा आर्थिक तरलतामा समेत असर परेको भन्दै अर्थमन्त्री शर्माले पुँजीगत खर्च बढाउन सरकारले ताकेता गरिएको बताए। कोभिड १९ संक्रमण पछि व्यापारीहरूले बढी आयात गरेको तर निर्यात कम हुँदा पनि अर्थव्यवस्थामा प्रभाव पारेको अर्थमन्त्री शर्माले बताए।
अर्थमन्त्री शर्माले देशकै राष्ट्रिय गौरवको आयोजनामा पर्ने सुनकोसी–मरिण डाईभर्सन आयोजना निर्माणका लागि बिहीबार २० अर्ब थप बजेट स्वीकृत गरेको जानकारी दिए।