काठमाडौं। देशकै राष्ट्रिय गौरवको आयोजनामा पर्ने सुनकोसी–मरिण डाईभर्सन आयोजना निर्माणका लागि थप २० अर्ब बजेट स्वीकृत भएको छ।
अर्थमन्त्री शर्माले सुनकोसी–मरिण डाईभर्सन आयोजना निर्माणका लागि बिहीबार २० अर्ब बजेट स्वीकृत भएको जानकारी दिएका हुन्।
शुक्रवारदेखि सिन्धुलीको मरिण गाउँपालिका ४ साहानमा सुरु भएको तेस्रो मरिण महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले भने, ‘सुनकोसी–मरिण डाईभर्सन आयोजना छिटो निर्माण सम्पन्न गर्न पैसाको अभाव हुन नदिन थप बजेट स्वीकृत गरेको छु। बजेट सिँचाई मन्त्रालयमा पठाइ सकिएको छ। अहिले सुरुङ निर्माणको काम प्रारम्भ भएको छ। अब सबै काम शुरु हुनेछ।’
सुनकोसी–मरिण डाईभर्सन आयोजना निर्माण सम्पन्न भएपछि सिन्धुलीको मरिण क्षेत्र हुँदै समग्र तराईमा कृषिजन्य उत्पादनमा वृद्धि भई देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अर्थमन्त्री शर्माले बताए। अर्थमन्त्री शर्माले नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा समाजवाद उन्मुख समाज निर्माणका लागि उत्पादन र श्रममा जोडिनु पर्नेमा व्यापक छलफल र बहस भएको बताए।