काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वको सरकारले विकास निर्माणका काममा उल्लेखनीय भुमिका निर्वाह गरेको बताए।
एमाले ललितपुरको आठौं अधिवेशनको उद्घाटनमा महासचिव पोखरेलले ओली सरकारले सडक र पुल निर्माणमा उल्लेखनीय काम गरेको बताएका हुन्।
उनले ओली सरकारले देशभरमा सडक, पुलको निर्माणमा उल्लेखनीय काम गरेको र रेल निर्माणका लागि महत्त्वपूर्ण सम्झौता गरेको दाबी गरे।
पहिले पूर्वपश्चिम एउटा मात्रै राजमार्ग रहेकामा ओली नेतृत्वको सरकारले ४ राजमार्ग निर्माण अघि बढाएको पोखरेलले बताए । अरु पार्टीले पहिले रेलको कुरा गर्दा कागजको रेल बनाएर उडाए पनि ओली नेतृत्वको सरकारले रेल निर्माणसम्बन्धी महत्त्वपूर्ण काम गरेको उनको भनाइ छ।
विगतमा भएका असमान सन्धिसम्झौताको पुनरवलोकनको काम शुरू हुनु र चुच्चे नक्सा प्रकाशन गर्नु उपलब्धि भएको उनको भनाइ छ ।