बुटवल। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल छिटो सञ्चालन गर्न निर्देशन दिएका छन्।
शनिबार विमानस्थल निरीक्षण गर्दै मन्त्रीले आलेले आफ्नो मुख्य प्राथमिकता विमानस्थल सञ्चालनमा रहेको भन्दै चाँडै सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन्।
मन्त्री आलेले भारतसँग हवाइ रुट अनुमतिका लागि मन्त्रालयले कुरा अगाडि बढाएको र विमानस्थल पनि जतिसक्दो छिटो संचालनमा ल्याउने बताए।
केही समय अघि भारत भ्रमणका क्रममा आफूले भारतीय समकक्षीसँग हवाई रुट अनुमति दिन आग्रह गरेको उनले बताए। मन्त्री आलेले अहिले मौसममा आएको खराबीका कारण क्यालिब्रेसन फ्लाइटमा ढिलाइ भएको भन्दै मौसम सफा हुने वित्तिकै क्यालिब्रेसन फ्लाइट गर्न आयोजना प्रमुखलाई निर्देशन दिए।
क्यालिब्रेसन फ्लाइटमा ढिलाइ भएको भन्दै मन्त्री आलेले असन्तुष्टि जनाउँंदै विभागका प्रमुखलाई फोन गरेर ढिला नगर्न निर्देशन दिएका थिए।
मन्त्री आलेले गौतमबुद्ध विमानस्थलको आठ सय विघा जमिन हुँदासमेत एउटा मात्रै रन–वे किन बनाएको भन्दै आयोजना प्रमुख प्रवेश अधिकारीलाई प्रश्न समेत गरे।
आयोजनाको अहिलेसम्म करिब ९९ प्रतिशत काम सम्पन्न भएको छ।