ललितपुर। ललितपुर महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने भएको छ। महानगरले प्रारम्भिक चरणमा अबको एक महिनामा ४ वटा विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको हो।
आवश्यकताका आधारमा अरू ६ वटा विद्युतीय सवारीसाधन थप्ने तयारी रहेको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए। उनले भने, ‘ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ। स्थानीय तहले विद्युतीय बस सञ्चालन गर्नेमा ललितपुर महानगरपालिका पहिलो स्थानीय सरकार हुनेछ ।’
यस विद्युतीय बसमार्फत पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिइने छ। विद्युतीय सवारीसाधन सञ्चालन गरी पर्यटकलाई निःशुल्क सेवा प्रदान गरिएपछि महानगरपालिकाले कम्तीमा पर्यटकलाई तीन दिनको प्याकेज बनाउने योजना बनाएको प्रमुख महर्जनले बताए ।
त्यसपछि उक्त प्याकेजअन्तर्गत ललितपुरको पुल्चोक, पाटन दरबार क्षेत्र, लगनखेल, जावलाखेललगायतका क्षेत्रमा पर्यटकलाई विद्युतीय सवारीसाधनबाट निःशुल्क भ्रमण गराउने योजना महानगरपालिकाले बनाएको छ ।