रुपन्देही। तिनाउ र दानव करिडोर निर्माणको काम रोक्न माग गर्दै प्रभावित क्षेत्रमा बासिन्दाले प्रदर्शन गरेका छन्।
स्थानीयले क्षतिपूर्तिसहित आफूहरुका लागि सही व्यवस्थापन नहुँदासम्म आयोजनाको काम अगाडि बढाउन नदिने भन्दै निरन्तर प्रदर्शन गरिरहेका छन्।
दानव नदी करिडोर क्षेत्रका विभिन्न टोलका स्थानीयले आइतवार बुटवल नगर परिक्रमा गर्दै उपमहानगरको गेट अगाडि धर्ना दिएका थिए। उनीहरूले ‘करिडोर चाहिँदैन, सुकुम्वासी मास्न पाइँदैन’ लगायतका नारा लगाएका थिए।
बुटवल उपमहानगरको महत्त्वाकांक्षी योजनाका रुपमा रहेको तिनाउ र दानव नदी करिडोरको ठेक्का सम्झौता भएको लामो समयपछि कार्यान्वयनको चरणमा गए पनि स्थानीयले अवरोध सिर्जना गरेका छन्।
करिडोर क्षेत्रमा पर्ने बस्तीलाई व्यवस्थापन गर्नका लागि काम भइरहेको बुटवल उपमहानगरले जनाएको छ।