काठमाडौं। पर्यटन व्यवसायीले पर्यटन गतिविधिलाई चलायमान राख्न सरकारसँग माग गरेका छन्।
नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिसँग छलफल गर्ने क्रममा जनस्वास्थ्यमको मापदण्ड पालना गरी पर्यटन गतिविधिलाई चलायनमान राख्न सरकारसँग माग गरिएको हो।
कार्यक्रममा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनलाई चलायमान बनाउन सुझाव दिए। कोरोना संक्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन व्यवसाय धराशायी भएको भन्दै त्यस्तो निर्णय नलिन उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले विगतमा कोभिडको संक्रमण र सीमित स्रोत र साधनका बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटाका अध्यक्ष अच्युत गुरागाईले कोभिड विरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए।