काठमाडौं। सुनसरीमा निर्माणाधीन २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको सञ्चालन तालिका दुई महिना पछि धकेलिएको छ। पुष सम्ममा निर्माण पूरा गरेर सञ्चालनमा ल्याउने भनिएको सबस्टेसनको काम सकिन अझै समय लाग्ने भएपछि सञ्चालन तालिका लम्बिएको हो।
अब सबस्टेसन सञ्चालनमा आउन फागुनसम्मको समय लाग्ने आयोजनाले जनाएको छ। गत बर्खामा आएको बाढीले सबस्टेसन डुबानमा परेर केही उपकरणहरू पनि बाढीमा बगेका कारणले पनि समयमा काम पूरा हुन नसकेको आयोजनाको भनाइ छ।
सबस्टेसनको हालसम्म ९० प्रतिशत काम पूरा भएको छ। सबस्टेसनमा उपकरण जडानको काम पूरा भइसकेको छ भने स्वचालित प्रणालीबाट सञ्चालन गर्ने प्रविधिको काम भइरहेको बताइएको छ। बाँकी काम सम्पन्न गरेर सबस्टेसनको आन्तरिक परीक्षण गरेपछि सञ्चालनको तयारी गरिने आयोजनाले जनाएको छ।